Wednesday, December 04, 2024 | २०८१ मङ्सिर १९ बुधबार

मदनमणिको जिउँदो मणि

साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भयो । आफ्नो आयुका अन्तिम दिनमा कान नसुन्ने भएर केही समस्याका बाबजुद लेखन र अध्ययनमा सक्रिय रहेका दीक्षितको परिचय साहित्यकार मात्र भनेर पुग्दैन । राणकालीन सत्तासँग निकट रहेको दीक्षित परिवारका एक सदस्यका रूपमा दरबारको सेवा गर्नेले पाउने सुविधा र अनुकूलतासहितको शक्ति अभ्यास र शक्ति तलमाथि हुँदा आइपर्ने समस्या देखेभोगेका दीक्षित शिक्षित नेपालीका पहिलो पुस्तामध्ये पर्थे उनी ।

वीरगन्जको हाइस्कुलमा हेडमास्टर, नेकपाका केही समय केन्द्रीय सदस्य र नेता, समीक्षाका सम्पादक र स्तम्भकारका रूपमा अग्रणी पत्रकार, माधवीलगायत कालजयी सिर्जना दिने साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, मदनमणिले अनेक आयामबाट नेपाली समाज र नेपाली भाषाको सेवा गरेका छन् । ९७ वर्ष आफैँमा एकजनाले जिउने पाँच पुस्ताको समय हो ।

मदनमणिले पनि राणकालका उतारचढाव व्यहोरे, सात सालको क्रान्ति र त्यसपछिका उथलपुथल देखे र त्यसको समीक्षा गरे, कतिपय समयमा एकजना सक्रिय कार्यकर्ताका रूपमा काम गरे, कम्युनिस्ट पार्टीमा रहेर बिस्तारै शान्तिपूर्ण राजनीति र सुधारवादका प्रवक्ता बन्दै यथास्थितिवादको पक्षमा उभिन पुगे ।

उनका राजनीतिक चिन्तन र मान्यताका सम्बन्धमा सबैको एकमत नहुन सक्छ र असहमति हुन सक्छन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपतिका रूपमा पनि उनी विवादित नै थिए । तर, उनले आफ्नो लेखन कर्ममार्फत नेपाली समाजलाई लगाएको गुन भने तिरिसाध्य छैन । यसका लागि उनी सधैँ सम्झिइनेछन् । 

मदनमणि दीक्षितले वनारस हिन्दू विश्वविद्यालयमा पढ्ने क्रममै पूर्वीय दर्शनको गहन अध्ययन थालेका थिए । समकालीन नेपालमा उनी पूर्वीय दर्शनका मुख्य आधिकारिक व्याख्याता थिए । हिन्दू दर्शनका प्रारम्भिक रचना वेद, उपनिषद्, पुराण र त्यसवरपर विकास भएका मिथहरूलाई आधार बनाएर उनले नेपालीमा लेखेको उपन्यास माधवी (यद्यपि उनको उपन्यासमा प्रयोग भएको नेपाली भाषा संस्कृतबाट अत्यन्त प्रभावित र क्लिष्ट मानिन्छ) उनले नेपाली साहित्यलाई दिएको सबैभन्दा ठूलो उपहार हो ।

आफ्नो लेखनकर्ममार्फत मदनमणि दीक्षितले नेपाली समाजलाई लगाएको गुन तिरिसाध्य छैन

माक्र्सवादी दर्शन र पूर्वीय दर्शन दुवैका ज्ञाताका रूपमा उनले माधवी उपन्यासमा वैदिक संस्कृति, कम्तीमा २५ सय वर्षपहिलेको भारतीय समाज, जसमा नेपालको दक्षिण भेगसमेत पर्छ, त्यसको उत्पादन पद्धति, राज्य सञ्चालनका आधारभूत पक्ष, स्त्री–पुरुष सम्बन्धका अनेक आयाम, क्षेत्रीय र ब्राह्मणबीचका अनेकखाले सम्बन्ध केलाएका छन् ।

मिथकीय पात्रहरू माधवी र गालवको जीवनगाथाका माध्यमबाट उनले समाजको जुन चित्रण पेस गरेका छन् र सामूहिक चेतनाको जुन पत्र हाम्रा सामु राखेका छन्, त्यसले समग्र दक्षिण एसियाली समाजलाई अध्ययन गर्न अहिले पनि सहयोग पु-याउँछ । त्यही समाजका कतिपय शक्ति–सम्बन्धहरू अहिले पनि यता निरन्तर पाइन्छ ।

जातीय विभेद, स्त्रीमाथि पुरुषको दमन र नियतिको दासी बन्दै हिँडेका स्त्रीका कथा, दास युगबाट सर्दै आएको दलितको उत्पीडन र त्यसको कथाका आधार माधवीमा पाइन्छन् । त्यसबाहेक पनि उनले समाजको चेतनालाई अघि बढाउन आफ्नो पत्रिका र त्यसमा नियमित आउने स्तम्भमार्फत सहयोग गरेका थिए । उनका बाँकी अन्य रचनामा पनि स्त्रीलाई प्राथमिकतामा राखेको पाइन्छ । उनको ठाउँ वास्तवमै कसैले लिन सक्नेछैन । साभार:नयाँ पत्रिका

प्रतिकृया दिनुहोस