Friday, December 27, 2024 | २०८१ पौष १२ शुक्रबार

अछाममा घरेलु हिंसाको घटना दर अझै उच्च

पुजा शाही, पौष ८, अछाम ।

अछाम जिल्लामा घरेलु हिंसाको घटना दर अझै उच्च देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले आईतबार मंगलसेनमा सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा घरेलु हिंसाको घटना दर अझै उच्च देखिएको हो ।

न्यायिक प्रक्रियामा रहेका १२ तथा अन्तिम किनारा लागेका ३८ घटना गरी पछिल्लो १२ महिनामा मात्रै ५० वटा घटना घरेलु हिंसाका घटना घटेका छन् ।

जिल्लास्तरमा तथ्यांकमा देखिएका यी घटनाबाहेक स्थानीय तहमा रहेका न्यायिक समिति, प्रहरी युनिट र वडास्तरमै मेलमिलापका माध्यमबाट टुंगो लागेका धेरै घटना रहेका समिक्षा कार्यक्रममा उपस्थित सरोकारवालाले बताएका छन् । नागरिकस्तरमा अझै पनि सचेतनाको अभाव तथा समाजमा व्याप्त विभिन्न परम्परा र कुप्रथाका कारण विशेषगरी महिलाहरु घरेलु हिंसाबाट पिडित भईरहेको उनीहरुको भनाई छ ।

यस्तै यो अवधिमा अभद्र व्यवहार तथा हातपातका १३, बाल बलात्कार तथा यौन दुव्र्यवहारका ७, बलात्कार तथा बलात्कारको प्रयासका ७, बैवाहिक बलात्कारका २ वटा घटना घटेका छन् । यस्तै बहुविवाहका ४ र विधुतिय अपराध सम्बन्धीका २ गरी जिल्लाभर जम्मा ८५ वटा घटना घटेका ईन्सेकको तथ्यांकमा उल्लेख छ । ती मध्ये न्यायिक पक्रियामा रहेका घटना ३७ वटा छन् भने ४८ वटा घटनाको अन्तिम किनारा लागेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ प्रकाशनका लागि जिल्लामा सन् २०२४ मा संकलित घटनाहरुको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवँर रहनु भएको थियो भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख कुवँरले नागरिक सचेतनाको कमि र कानुनी उपचार प्रभावकारी रुपले हुन नसकेका कारण घरेलु हिंसा, लैंगिक हिंसा, यौन दुव्र्यवहार र जबरजस्ती करणी जस्ता घटनामा कमी आउन नसकेको बताउनुभयो । जवरजस्ती करणी तथा बलात्कार सम्बन्धमा नेपालको कानुनमा नै अस्पष्टता देखिएकोले पिडितले समयमै न्याय पाउन नसकिरहेको तथा लामोसमय अल्झिनुपर्ने समस्या रहेको भन्दै अब कानुन नै परिमार्जनको आवश्यकता देखिएको उहाँको तर्क छ ।

पछिल्लो समय सूचना प्रविधिको तिव्र विकास र पहुँचले बालविबाह र बहुविवाह बढीरहेको देखिएको भन्दै उहाँले समाजमा व्याप्त रुढीबादी सोच, कमजोर आर्थिक अवस्था र बेरोजगारी यसका प्रमुख कारण रहेकाले यस्ता समस्याको दिर्घकालिन समाधानमा सबै सरोकारवाला पक्षको हातेमालो आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्लामा मानवअधिकारको अवस्थाको समिक्षा गर्दै नेपालका धेरै जिल्लामा अझै पनि कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीहरुको अवस्था नाजुक रहेको भन्दै अछाममा भने त्यस्तो समस्या धेरै नरहेको बताउनुभयो । जिल्ला कारगारको क्षमताभन्दा कम संख्यामा कैदीबन्दी रहेका तथा उनीहरुको आधारभुत आवश्यकतामा त्यती धेरै गुनासो नरहेको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्लामा संकलित घटनाहरुको विवरण पत्रकार तथा ईन्सेकका अछाम प्रतिनिधि शिवराज ढुंगानाले प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक टेक बहादुर खड्का, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिस प्रसाद भट्ट, जिल्ला बार एशोसियसनका सचिव गणेश प्रसाद ढुंगाना, अधिवक्ता पुष्पराज शर्मा, पत्रकार लगायतको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस