८ मार्च र महिला मुक्तिको प्रश्न
लामो आन्दोलनको आँधीबेहरी व्यहोरेर यहाँसम्म आइपुग्दा पनि आममहिलाको स्थितिमा गुणात्मक फेरबदल आउन सकेको छैन
महिलामाथिको उत्पीडन आठ हजार वर्ष पुरानो हो । महिलाहरू लैंगिक रूपमा मात्रै नभई सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत कैयौँ उत्पीडनको चपेटामा छन् । पितृसत्ता जति पुरानो छ, त्यति नै पुरानो छ महिलामाथि उत्पीडनको इतिहास । यस अर्थमा आजसम्मको इतिहासकै सबैभन्दा लामो र निर्मम उत्पीडन महिलाले भोगेको उत्पीडन हो । दासयुगको सुरुवातसँगै निजी सम्पत्तिको गठन र त्यसलाई संस्थागत गर्न विकास भएको एकनिष्ठ विवाह संस्थाको आरम्भसँगै पितृसत्ताको उदय भएको मानिन्छ ।
फ्रेडरिक ऐंगेल्सका अनुसार मातृप्रधान समाजबाट पितृसत्तात्मक समाजको अवतरण वास्तवमा महिलाको सबैभन्दा ठूलो हार थियो । उनका अनुसार महिला दासताको सुरुवात पनि मातृशक्तिको पतन र परिवार तथा निजी सम्पत्तिको उदयसँगै भएको हो । वास्तवमा सबैभन्दा पहिले विवाह संस्था र निजी परिवारको गठन नै महिला दासतालाई संस्थागत गर्ने आधार बन्यो । माक्र्सवादी चिन्तक एभलिन रिड भन्छिन्, ‘मातृसत्तात्मक साम्यवादलाई उल्ट्याई पितृसत्तात्मक समाजको सुरुवातसँगै महिलालाई सामाजिक र सांस्कृतिक जीवनबाट अलग्याई घरको नोकरचाकरमा मात्र सीमित गरियो ।’ तसर्थ निजी परिवार र निजी सम्पत्तिको उदयसँगै समाज पितृसत्तात्मक भएपछि आरम्भ भएको हो– महिलामाथिको दमनको यात्रा अर्थात् महिला दासताको सिलसिला । पितृसत्तात्मक व्यवस्थाको उदयसँगै संसारको कुनै पनि कुनो महिला उत्पीडनबाट अछुतो रहेको छैन । र, उत्पीडनसँगसँगै इतिहासका विभिन्न कालखण्डमा आममहिलाको मुक्तिको आन्दोलन पनि समानन्तर ढंगमा अनवरत अघि बढिरहेकै छ । अनि यही आन्दोलनकै एउटा अनुपम उपलब्धि हो, ८ मार्च अर्थात् ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ ।
८ मार्च र श्रमिक महिला आन्दोलनको इतिहास : लिंगका आधारमा गरिने विभेद, दमन, हिंसा एवम् अन्य शोषणविरुद्ध संसारभर विभिन्न प्रकारका आन्दोलन हुँदै आएका छन् । अझ पुँजीवादको उदयसँगै यसले सस्ता श्रमिकका रूपमा महिलालाई पनि सार्वजनिक वृत्तका काममा घरबाहिर ल्याइदियो । महिला भएकै कारण उनीहरूले कारखानामा श्रमको शोषण, असमान ज्याला तथा यौनिक दुव्र्यवहारजस्ता कैयौँ शोषणका नयाँ स्वरूपको सामना गर्नुपर्यो । फलस्वरूप आधुनिक युगमा आएर महिला उत्पीडनविरुद्ध मोर्चाबन्दी गर्ने जिम्मा पनि यिनै कामकाजी महिलाका काँधमा आइपुग्यो । सन् १९०८ को फेब्रुअरीमा पहिलोपटक महिलामाथि कारखानामा हुने श्रमशोषण, असमान ज्याला, दयनीय कार्य अवस्थाजस्ता उत्पीडनविरुद्ध अमेरिकाको न्युयोर्कमा महिला श्रमिकले व्यापक हडताल र आन्दोलन सुरु गरे ।
अमेरिकाको समाजवादी दलको अग्रसरतामा भएको यो हडताल पटक–पटक गरी वर्ष दिनसम्म लम्बिएको थियो । अर्को वर्ष २८ फेब्रुअरीलाई आन्दोलनको वार्षिकोत्सवका रूपमा मनाउँदै न्युयोर्कमा यस दिनलाई राष्ट्रिय महिला दिवस भनेर घोषणा गरियो । श्रमिक महिला आन्दोलनकी नेतृ तथा संयोजक लियोनोरा ओ’रेलीले सम्बोधन गरेको यो आमसभा नै आधुनिक महिला दिवसको सुरुवात थियो । अमेरिकी राष्ट्रिय महिला दिवसका सम्बन्धमा लेखक चार्लोट्टी पेर्किङ गिलम्यानले भनेकी थिइन्, ‘हो, महिलाको दायित्व घर र मातृत्व हो, तर घर भनेको ३–४ कोठा वा कुनै सहर र राज्य मात्रै होइन, सिंगो मुलुक हो ।’
तर, श्रमिक महिलाको सो आन्दोलन अमेरिकाको न्युयोर्कमा मात्रै सीमित भएन । जर्मन कम्युनिस्ट नेतृ क्लारा जेटकिनले महिला आन्दोलन तथा दिवसलाई सन्
१९१० मा अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलन गर्दै अन्तर्राष्ट्रियस्तरमा रूपान्तरण गरिन् । १९१० को सुरुवातमै श्रमिक महिलाको हकहितमा समर्पित गर्दै युरोपका धेरै देशले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई मान्यता दिए । सन् १९११ मा पेरिस कम्युनको ४०औँ वार्षिकी (१९ मार्च) का अवसरमा भएको महिला मार्चले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वलाई अर्को उचाइमा पुर्यायो । त्यस दिन विश्वभर १० लाख मानिसले मार्चपासमा सहभागिता जनाएका थिए । रसियाले सन् १९१३ देखि महिला दिवस मनाउन थाल्यो । पहिलो विश्वयुद्धका दौरान समाजवादी महिलाले सुरुवात गरेको महिला दिवस केही छायामा परेको भए पनि युरोपभर दिवसले निरन्तरता पाइरह्यो ।
अन्ततः सन् १९१७ को महिला दिवस (८ मार्च÷रसियाको जर्जियन पात्रोअनुसार २३ फेब्रुवरी) का अवसरमा रसियन महिला नेतृ अलेक्जेन्ड्रा कोलताईको अगुवाइमा भएको महिला आन्दोलन जार शासनविरुद्धको पहिलो सशक्त बिगुल बनेको थियो । सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्यो । त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउन थाले । श्रमिक महिलाको अथक संघर्षबाट स्थापित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा सन् १९७५ मा मान्यता दिएपछि आज सयभन्दा बढी मुलुकमा यो दिवस मनाइन्छ ।
आन्दोलनमा नेपाली महिला : नेपाली समाजमा पनि महिलाले इतिहासदेखि आजसम्म बर्बर उत्पीडनको सामना गर्दै आइरहेका छन् । नेपाली महिलाले पनि विभिन्न उत्पीडनविरुद्ध अथक आन्दोलन गर्दै आएका छन् । लैंगिक, जातीय तथा वर्गीय उत्पीडनविरुद्ध, सामाजिक न्याय र सामाजिक तथा राजनीतिक रूपान्तरणका निम्ति नेपाली महिलाले पुर्याएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन । नेपाली समाजमा निहित सामाजिक कुरीति, कुसंस्कार र महिलामाथि हुने शोषण तथा दमनविरुद्ध राणाशासनको अवधिमै योगमायाको नेतृत्वमा भएको विशाल विद्रोह एक ऐतिहासिक दृष्टान्त हो । उनको नेतृत्वमा राणाशासक भीम शमशेरसमक्ष सुधारका विभिन्न माग प्रस्तुत गरिएका थिए । ती माग पूरा नगरिएपछि योगमायासहितका ५७ जनाले अरुण नदीमा हामफाली आत्मत्याग गरेका थिए । महिला स्वतन्त्रता र समानताका लागि एवं समग्र सामाजिक न्याय र रूपान्तरणका लागि वि.सं. १९७४ मा योगमायाहरूले आत्मदाह गरेर थालेको आन्दोलनले पनि एक शतक बढी उमेर पार गरिसकेको छ ।
महिलाका संगीन मुद्दालाई एकातिर थाती राखेर सम्भ्रान्त र पहुँचवाला महिलाले विभिन्न पार्टी प्यालेसमा तडकभडकका साथ नाचेर, गाएर र रमाएर ८ मार्च मनाउनु विश्व श्रमिक महिला आन्दोलनकै हुर्मत लिनु हो
त्यति मात्रै होइन, प्रजातान्त्रिक आन्दोलनका विभिन्न आयाम र शृंखलामा पनि महिलाको भूमिका निर्णायक रहँदै आएको छ । त्यसैगरी २०५२ सालदेखि सुरु भएको जनयुद्धमा पनि महिलाको अत्यधिक सहभागिता थियो । करिब ४० प्रतिशत महिला त माओवादी जनमुक्ति सेनामै सामेल भएको बताइन्छ । पितृसत्ताले महिलालाई केवल चुलोचौकोमा मात्रै सीमित हुने स्थान दिएको छ । तिनलाई चुरा, पोते, सिन्दुर र शृंगारले सजिसजाउ गुडिया बनाएको छ । सन्तान उत्पादन गर्ने मेसिन तथा सन्तान हुर्काउने तथा घरपरिवार र पतिको सेवा गर्ने घरेलु दास बनाएको छ । यस्तो जर्जर पितृसत्ताको साङ्लो तोडेर, सिन्दुर, पोते तथा शृंगारको बन्धन चुँडालेर र चुलोचौको तथा घरको संघार नाघेर जनयुद्धमा सामेल हुन पुग्नु चानचुने थिएन । समाजले डाडु, पन्यू र बच्चा थमाइदिएका हातहरू राइफल र बम बोक्नमा अभ्यस्त बनेको इतिहास आफैँमा सामान्य होइन । यस अर्थमा पनि संसारका प्रत्येक कुनाका महिला सबैखाले उत्पीडनविरुद्ध उत्तिकै जुझारु बनेर लडिरहेको छन् । यसको दृष्टान्त हामीसँगै छ ।
तर, विडम्बना नै मान्नुपर्छ, यत्रो आन्दोलनको आँधीबेहरी व्यहोरेर यहाँसम्म आइपुग्दा पनि महिलाको स्थितिमा कुनै गुणात्मक फेरबदल आउन सकेन । बरु हिजो मुक्तिको युद्ध लडिरहेका महिला फेरि उही परम्परागत जीवनशैलीमा फर्किनुपरेको यथार्थ छ । आजसम्मको महिला आन्दोलन र मुक्तिको प्रयत्नले शिक्षा, स्वास्थ्य र केही सामाजिक स्थानमा महिलाको उपस्थिति सम्भव भए पनि पूर्णतया महिलाको अवस्थामा भने धेरै फेरबदल हुन सकेको छैन । महिला मुक्तिको सवाल आज पनि पितृसत्ताको पासोमा जकडिइरहेको छ । हिजोको जंगली युगबाट मानिस सभ्यताको आजको युगमा आइपुगे पनि महिलाका सवालमा भने खास परिवर्तन आउन नसक्नु दुःखद छ ।
आर्थिक, राजनीतिक र सांस्कृतिक सवालबाट बेखबर बनाएर सामन्ती पितृसत्ताले महिलालाई लामो अन्तरालसम्म घरेलु दासका रूपमा शोषण गरिरह्यो । एक पुरुषकी सेविका र पराधीन वस्तु बनायो । सामन्तवादबाट पूर्णतया मुक्त हुन नपाउँदै पुँजीवादी व्यवस्थाले आममहिलालाई सस्तो श्रमिकका रूपमा सार्वजनिक वृत्तमा त ल्याइदियो । तर, यो व्यवस्थाले पुनः महिलामाथि शोषणका नयाँ–नयाँ स्वरूपको पनि सिर्जना गरिदियो । एकातिर यसले सस्तो श्रमिक बनाएर महिलाको शोषण गरिरहेको छ भने अर्कातिर पुँजीवादी बजारमा बिकाउ वस्तुमा परिणत गरी महिला शरीरलाई बजारीकरण गरेर मुनाफा कमाइरहेको छ । आज पनि महिलामाथिको शोषण उस्तै छ, मात्रै शोषणका प्रकार बदलिएका छन् । अर्थात्, शोषणले स्वरूप बदलेको छ । स्वतन्त्रताका नाममा भइरहेको महिलाको बजारीकरण र महिला शरीरको विनिमय आजको अर्को डरलाग्दो शोषण हो । घरघरमा बन्दी बनाउने सामन्तवादजस्तै घरबाट निकालेर विश्वबजारमा ‘माल’ बनाउने पुँजीवाद पनि महिलाविरोधी व्यवस्था भएर निस्किएको छ । यस्तो प्रवृत्तिले महिला स्वतन्त्रतालाई फरक दिशामा मोडेर मुक्तिको सवाललाई नै भुलभुलैयामा अल्झाइरहेको छ । त्यसैले पनि महिला आन्दोलन र महिला दिवसको सान्दर्भिकता आज पनि टड्कारो छ ।
नारी दिवस कि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ? : वास्तवमा आजको दिवस विशुद्ध श्रमिक महिलाको अथक आन्दोलनकै परिणाम हो, जसलाई इतिहासमा पटक–पटक समाजवादी तथा कम्युनिस्ट आन्दोलनले प्रत्यक्ष–परोक्ष साथ, सहयोग र समर्थन गरेको छ । चाहे सन् १९०८ मा न्युयोर्कमा भएको श्रमिक महिला आन्दोलनको संयोजन गर्ने लियोनोरा ओ’रेली हुन् या आन्दोलनलाई विश्वव्यापीकरण गर्ने जर्मन कम्युनिस्ट नेतृ क्लारा जेट्किन वा महिला दिवसलाई समाजवादी आन्दोलनमा रूपान्तरण गर्ने रसियाकी अलेक्जेन्ड्रा कोलताई, यी सबै नारीवादी योद्धाहरू समाजवादी आन्दोलनकै प्रमुख हिस्सा हुन् । महिलाहरू सामाजिक र राजनीतिक प्राणी हुन् र घरबाहिर सामाजिक ‘स्पेस’हरूमा पनि उनीहरूको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मान्यता आफैँमा समाजवादी आन्दोलनकै देन हो ।
समान काम : समान ज्याला, मताधिकार समाजवादी आन्दोलनले उठान गरेका मुद्दा हुन् । ‘कुनै पनि क्रान्ति सफलता या असफलता त्यसमा हुने महिलाको उपस्थितिले निर्धारण गर्छ’ भन्ने मान्यतालाई सैद्धान्तिक रूपमै स्थापित गरी रुसमा लेनिनले आफ्नो कार्यकालमा आन्दोलनमा धेरैभन्दा धेरै महिला सहभागी गराएर यसको अभ्यास पनि गरेका छन् । सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्यो । त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउन थाले । तर, बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै जाँदा पुँजीवादीहरूले आफूअनुकूल व्याख्या गरी यसलाई ‘अन्तर्राष्ट्रिय महिला दिवसका’ रूपमा स्थापित गरे । नेपालमा त अझ श्रमिक महिलाले गरेको उत्पीडनविरुद्धको ऐतिहासिक आन्दोलनकै मर्मविपरीत ‘महिला’ शब्दको सट्टा ‘नारी’ शब्दको प्रयोग गर्दै दिवसलाई कर्मकाण्डीय पर्वमा रूपान्तरण गरिएको छ । अहिले यो फगत नेपाली समाजको अर्को ‘दर खाने दिन’ बन्न पुगेको छ ।
तर, महिलाका संगीन मुद्दालाई एकातिर थाती राखेर तडकभडकसाथ सम्भ्रान्त र पहुँचवाला महिलाले भड्किलो गरी विभिन्न पार्टी प्यालेसमा नाचेर, गाएर र रमाएर ८ मार्च मनाउनु विश्व श्रमिक महिला आन्दोलनकै हुर्मत लिनु हो । त्यसैले विश्व समाजवादी आन्दोलनले स्थापित गरेका महिलाका मुद्दालाई संरक्षण गर्दै थप अधिकारको आवाज उठाउने ऐतिहासिक दिनका रूपमा मार्च ८ लाई बुझ्नुपर्छ । दिवसको जिउँदो–जाग्दो इतिहासले भन्छ, यो अत्यन्तै संरचनाको पिँधमा दबिएका भुइँ महिलाको हकहितको आवाज बोल्ने दिन हो । अधिकारका निम्ति लड्न र बोल्न सिकाउने दिन हो । ८ मार्च निरन्तर गरिखाने श्रमिक महिलाको पक्षमा बोल्दै समग्र महिला मुक्तिको बाटोमा निरन्तर लडिरहने प्रतिबद्धताको दिन हो ।
प्रतिकृया दिनुहोस