Thursday, November 21, 2024 | २०८१ मङ्सिर ६ बिहीबार

बढ्दैछ साहसिक पर्यटन

नेपालमा पछिल्लो समय फस्टाएको व्यवसाय हो साहसिक पर्यटन। विश्व पर्यटनमा नेपालको नौलो स्थान सुरक्षित गर्नसमेत साहसिक पर्यटकीय गतिविधिले सहयोग गरिरहेको छ। 

 

 

 

यसैको उदाहरणको रुपमा बञ्जी हुँदै स्काइडाइभ, पदयात्रा, जंगल सफारी, प्याराग्लाइडिङ, एडभेञ्चर राइडिङ, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ जिपलाइन, अल्ट्रालाइट जस्ता गतिविधि बढिरहेको छ। त्यसले पर्यटकका लागि आकर्षण बढाउनुका साथै उनीहरुको बसाइ लम्ब्याउन पनि सहयोग गरिरहेको छ। 

त्‍यसमा विशेष बनिरहेको विश्वमा उत्कृष्ट बञ्जीको सूचीमा पर्ने भोटेकोशी बञ्जी १ सय ६‍० मिटरको उचाइबाट फाल हालिने बञ्जी हो। सगरमाथाको काखमा एभरेष्ट स्काइडाइभ पनि विश्व पर्यटनमा नै स्थापित भइरहेकै छ। हिमाली सुन्दर दृश्य हेर्दै स्काइ डाइभको मजा अन्त कहाँ र!

हिमाली क्षेत्रमा हुने पदयात्रामा त नेपालको बखान गरिरहन जरुरी देखिँदैन। विश्वभरबाट नेपाल आउने धेरै पर्यटकको प्रमुख ध्यान नेपालमा हिमाली पदयात्रा गर्नुमा हुन्छ। त्यसमा मुख्य छ, अन्नपूर्ण पदमार्ग। विश्वकै लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’ नेपालमै छ। र्‍याफ्टिङका लागि भोटेकोशी नदी विश्वकै तेस्रो एडभेञ्चर मानिन्छ।

हिमाल आरोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य हुँदै हो। विश्वकै सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन्। अरु थुप्रै हिमाल आरोहणका लागि राम्रो मानिन्छन्। नेपाली पर्यटन पनि हिमाल आरोहणबाटै सुरुवात भएको हो। बर्सेनी हजारौँ पर्यटक हिमाल चढ्न नेपाल आउँछन्। सिजनमा हिमाल चढ्ने पर्यटकले तारे होटल भरिभराउ हुन्छन्। नेपालमा जंगल सफारी, प्याराग्लाइडिङ, एडभेञ्चर राइडिङ, क्यानोनिङ, रक क्लाइम्बिङ पनि लोकप्रिय छन्।

यसैले नेपालमा पर्यटक लोभ्याउने गरी अझै उत्कृष्ट रुपमा साहसिक मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्न सकिन्छ। भौगोलिक बनावटले पनि नेपाललाई साथ दिएको छ। सानो लगानीमा यहाँ विश्वकै ध्यान खिच्ने साहसिक खेलहरु सञ्चालन गर्न सकिन्छ। 

साहसिक मनोरञ्जनात्मक खेलमा पनि आकर्षण बढ्दो छ। पछिल्लो समय विश्व पर्यटनको बलियो आधार पनि साहसिक गतिविधि हुन थालेको पाइन्छ। विदेशी मुलुक अर्बौं खर्चिएर कृतिम पूर्वाधार खडा गरी साहसिक गतिविधि सञ्चालन गरिरहेका छन्। मकाउको विश्वकै अग्लो बञ्जी (२३३ मि) मानव निर्मित संरचना मकाउ टावरबाट गराइन्छ। मकाउमा बञ्जी गर्न विश्वका एडभेञ्चर पारखीहरु भिड लाग्छन्।

jajarkot gumba jane bato.jpg

 

दुबईमा विदेशी पर्यटक आकर्षित गर्न विश्वकै अग्लो टावरबाट स्काई डाइभ र बञ्जी गराइन्छ। र्‍याफ्टिङ गराउन दुबईले दुई किमी लामो कृतिम नदी बनाएको छ। र्‍याफ्टिङ गर्न पर्यटक महंगो शुल्क तिरेर घुइँचो लाग्छन्। डेजर्ट मुलुक दुबईले पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्चिँदै आएको छ। अरु देशमा पनि करोडौं डलर खर्चिएर साहसिक खेल सञ्चालन गरेको पाइन्छ। साहसिक गतिविधिमा पर्यटक महँगो शुल्क पनि तिर्न तयार हुन्छन्।

साहसिक पर्यटनको झन्डै ७० वर्षे इतिहास भएको नेपालमा थोरै रकम खर्च गरेमा विश्वकै उत्कृष्ट साहसिक खेलहरु सञ्चालन गर्न सकिन्छ। र्‍याफ्टिङ गर्न मिल्ने दर्जनौँ नदी छन्। स्काई डाइभ र प्याराग्लाइडिङ गर्न पनि प्रशस्तै पहाड छन्। बञ्जी गर्न अनगिन्ती खोँचहरु छन्। रक क्लाइम्बिङ र क्यानोनिङको पनि उत्तिकै सम्भावना छ।

नेपाल आएर पचासकै दशकमा बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टसले पर्यटनमा फरक रुपमा बजार बुझ्न थालिसकेका थिए। उनले साठीको दशकको सुरुवातदेखि नै पदयात्रा (ट्रेकिङ) गराउन सुरु गरे। उनको माउन्टेन ट्राभल (सन् १९६५) मुलुककै पुरानो कम्पनी हो। नेपालका अधिकांश ट्रेकिङ रुटहरु यही कम्पनीले एक्स्पोलोर गरेको बताइन्छ। हिमालय क्षेत्रमा पदयात्रा सुरु भइसकेको थियो। सोही बखत (सन् १९६४) चितवनको जंगलमा टाइगर टप्स हन्टिङ कम्पनी र बर्दियामा वेष्ट नेपाल हन्टिङ कम्पनी खुल्यो। अमेरिकन नागरिक वान्ना र केलिनले टाइगर टप्स खोले, बेलायती नागरिक जिम एडवार्डस् बर्दियातर्फ लागे। पछि टाइगर टप्स पनि जिमले नै खरिद गरे। जुन सफारी टुरिजममा विश्वभर चर्चित पनि भयो।

साठीको दशकमा ट्रेकिङ र हन्टिङ पर्यटन सुरुवात भयो। हन्टिङमा प्रतिबन्ध भएपछि सन् ७० को दशकदेखि हात्ती सफारी सुरु भयो। अफ्रिकामा ठूलो रकम खर्चिएर सफारीमा जाने पर्यटक नेपाल भित्रिन थाले। 

असीको दशकको सुरुवातमै त्रिशुली नदिमा र्‍याफ्टिङ सुरु भयो। यो पनि टाइगर टप्सले नै सुरु गरेको हो। यो विश्वकै दोस्रो र्‍याफ्टिङ थियो। पहिलो इथोपियाको ब्लु नाइल हो। अहिले र्‍याफ्टिङ निकै लोकप्रिय भइसकेको छ। एडभेञ्चर गतिविधिमा र्‍याफ्टिङ निकै अगाडि मानिन्छ। भोटेकोशीको बञ्जी जम्प पनि विदेशी नागरिकले नै सञ्चालन गरेका हुन्।

नेपालमा साहसिक पर्यटन विकासमा विदेशी नागरिकको महत्वपूर्ण योगदान रहेको छ। अधिकांश साहसिक गतिविधि विदेशी नागरिकले सुरुवात गरेका हुन्। अहिले पनि नेपाली पर्यटन व्यवसायी विदेशीले एक्स्पोलोर गरिदिएका साहसिक प्रोडक्ट बिक्री गरेर व्यवसाय धानिरहेका छन्। फिप्टीज र सिक्स्टीजको दशकमा विकास गरिएका गतिविधिमा खासै नयाँ थपिएको देखिँदैन। अहिले पनि नेपाली पर्यटन हिमाल, जंगल, नदीमै अडिएको छ।

नेपालमा ट्रेकिङ सुरुवात भएको झण्डै सात दशक पुग्नै आँट्यो। अहिले पनि ट्रेकिङ मुख्य पर्यटकीय प्रोडक्ट हो। नेपालको हिमाली तथा पहाडी भेगमा ट्रेकिङका लागि लाखौं पर्यटक आउँछन्। खुम्बु (एभरेष्ट) पदयात्रा, अन्नपूर्ण सर्किट, मनास्लु, रोल्वालिङ, डोल्पा, हुम्ला, घोरेपानी, गोसाईंकुण्ड, बडिमालिका, खप्तड, रारा, फोक्सुन्डो लगायतका ठाउँहरु पदयात्राका लागि चर्चित हुन्। 

व्यवसायीका अनुसार नेपालमा पदयात्रा गर्न आउने कुल पर्यटकको झण्डै ६० प्रतिशत अन्नपूर्ण क्षेत्र पुग्छन्। यस्तै २० प्रतिशत पर्यटक खुम्बु क्षेत्रमा र बाँकी अरु गन्तव्यमा जाने गर्छन्। नेपालको पर्यटन अझै पनि ट्रेकिङले नै धानेको भन्दा फरक पर्दैन।

pokhara jeepline.JPG

 

नेपालको हिमाली भेगमा स्की खेलको प्रशस्त सम्भावना छ। तर अहिलेसम्म पहिचान गर्न पनि सकिएको छैन। विदेशमा स्की निकै चर्चित छ। अग्ला हिमालको हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास गर्ने प्रयास सुरु हुँदैछ। स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले पहल सुरु गरेको हो। हिमालको आधार शिविर, चुली एवं हिमाली भेगमा प्रशस्त हिउँ पाइने भएकोले स्कीको राम्रो सम्भावना छ। 

अग्ला झरनामा गरिने क्यानोनिङ र पहाडमा गरिने रक क्लाइम्बिङ पनि उत्तिकै मनोरञ्जनात्मक गतिविधि छन्। नेपालको विभिन्न ठाउँमा क्यानोनिङ क्लाइम्बिङ गराइँदै आएको छ। यस्तै, साइक्लिङ, हाइकिङ, केवलकार, रिभर हाइक, हन्टिङमा पनि नेपाल उपयुक्त छ। 

पछिल्लो समय जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले पोखरामा सुपरम्यान जिपलाइन सञ्चालन गरेको छ। सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुआत गरेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकपछि सुपरम्यान जिपलाइन सुरु गरेको हो।   

यसमा समुद्री सतहदेखि १ एक हजार ५ सय ५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटरको दुरी रहेको छ। 

यस्ता अनगिन्ति सम्भावना भएको साहसिक पर्यटकीय गतिविधिको कानूनी नियमन भने राम्ररी भएको देखिँदैन। कतिपय साहसिक पर्यटकीय खेल गतिविधि जोखिमका रुपमा समेत सञ्चालन भइरहेको देखिन्छ। आन्तरिक पर्यटनका लागि विशेष आकर्षण बनिरहेको त्यस्ता गन्तव्यलाई नियमसंगत रुपमा बढाउन सरकारले ध्यान दिनु जरुरी छ। 

प्रतिकृया दिनुहोस