Thursday, April 25, 2024 | २०८१ बैशाख १३ बिहीबार

ताजा अपडेट

   

भारतमा चौकीदारी गर्ने शंखु अहिले फलफूल बगैँचाका ‘मालिक’

जुम्ला – कुनै समय रोजगारीको लागि भारतमा चौकीदारी गर्न जानुभएका जुम्लाका शंखु खत्री अहिले आफ्नै गाउँठाउँमा बगैँचाका मालिक बन्नुभएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर १० का शंखुले बाँझा पाखाहरुलाई बगैँचामा परिणत गर्नुभयो । आफ्नो बाँझो जमिनमा ओखर, स्याउ लगायत फलफूलका बिरुवा रोपेर त्यसलाई नै आम्दानीको स्रोत बनाउनुभएका शंखु यही व्यवसायबाटै लखपति हुनु भएको छ । 

‘अहिले बर्सेनि ८० लाख  रुपैयाँ भन्दा बढीको आम्दानी हुन्छ’, उहाँले बगैँचातिर आँखा दौडाउँदै भन्नुभयो, ‘स्याउ, ओखरबाट आएको फल तथा बिरुवा बिक्रीबाट आम्दानी हुने गरेको छ ।’

उहाँले यो वर्ष ७७ लाख रुपैयाँ बराबरको ओखरको बिरुवा मात्रै बिक्री गर्नुभयो । ६ लाख रुपैयाँको ओखर उत्पादन गर्नुभयो । यस्तै ३ लाख रुपैयाँ बराबरको स्याउ बिक्री गर्नुभयो । 

वि.सं २०४८ सालमा भारतको हिमाञ्चल सिम्लामा स्याउ बगैँचामा चौकीदारी गर्न पुग्नुभएको थियो उहाँ । एक वर्ष चौकीदारीको काम गरेर आफ्नै गाउँठाउँमा केही गर्ने सोच पलाएपछि उहाँ फेरि जुम्ला फर्किनुभयो । घर फर्केर स्याउ नर्सरी शुरु गर्नुभयो । नर्सरी सँगसँगै स्याउ उत्पादन पनि बढाउँदै जानुभयो । नर्सरीलाई उद्योगको रुपमा सञ्चालन गर्नुभयो ।  लामो समय स्याउ व्यवसायीको परिचय बनाउनुभएका शंखु पछिल्लो समय ओखर व्यवसायमा पनि अब्बल हुनुभएको छ । विभिन्न जातका ओखरहरुको उत्पादन गरेर बर्सेनि लाखाैँ रुपैयाँ आम्दानी गर्ने शंखुको बगैँचा अहिले दैनिक किसान र विज्ञहरुको थलोको रुपमा चिनिन थालेको छ । 

शंखुले फलफूल खेती बारे केही कुरा रोजगारीको क्रममा भारतमा पनि सिक्नुभयो । तर यसको प्रेरणा भने आफ्नै बुवाबाट पाउनुभयो । वि.सं २०२४ सालमा राजा महेन्द्रले जुम्लामा बागवानी फारमको स्थापना गर्नुभएको थियो । शंखुका बुवा कर्णजित खत्री पनि त्यही फारममा चौकीदारको काम गर्नुहुन्थ्यो । बुवा त्यहाँ काम गर्ने भएपछि शंखु पनि त्यहीँ हुर्किनुभयो । फलफूलबारे धेरै कुरा सिक्नुभयो । त्यहीँबाट उहाँलाई प्ररेरणा मिल्यो ।

करोडौँको जग्गामा हजारौँ ओखरका बिरुवा 

अहिले शंखुको बगैँचा ३२ हजार बर्गमिटरमा फैलाएको छ । कुनै समय अरुको खेत अदियाँमा लिएर गर्जो टार्ने शंखुसँग अहिले करौडौँ रुपैयाँ मूल्यको जमिन छ ।

‘बुवाको नाममा एक कित्ता जग्गा थिएन, दुई कित्ता जग्गा माते खेत खान्थ्यौँ तर अहिले ६७ कित्ता जग्गा छ’, शंखुले आफ्नो खुसी साँट्दै भन्नुभयो, ‘स्याउ र ओखरका बोटको आम्दानीले नै यति सम्पत्ति जोड्न सकिएको हो ।’

खत्रीको बगैँचामा यो वर्ष १८ हजार ग्राफ्टिङ ओखरका बिरुवा उत्पादन भएका थिए । जसमा ११ हजार बिरुवा प्रति बिरुवा सात सयका दरले ७७ हजार रुपैयाँको बिक्री भइसकेका छन् । ग्राफ्टिङ ओखरका बिरुवाको सरकारी दर सात सय रुपैयाँ छ । 

यस्तै उहाँको बगैँचामा ओखरका बोटमा फल लाग्न थालेका छन् । एक हजार चारसय बिरुवा ओखर रोपेकोमा तीन सय बिरुवा फल्न थालेको उहाँले बताउनुभयो । उहाँले भिरालो जमिनमा स्याउ तथा ओखरका बिरुवा रोपेर जमिन भू क्षय हुनबाट पनि बचेको छ । 

पुरस्कारै पुरस्कार

किसान शंखु खत्रीले राम्रो स्याउ उत्पादन गरेवापत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको पुरस्कारहरुबाट पुरस्कृत हुनुभएको छ । वि.स. २०७२ सालमा विराटनगरमा सम्पन्न नवाँै राष्ट्रिय कृषि मेलामा उत्कृष्ट स्याउ किसानको रुपमा पुस्कृत हुनुभएको थियो ।  यसैगरी मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालायबाट प्रथम राष्ट्रपति उत्कृष्ट किसानको रुपमा छनौट हुनुभयो । यस्तै जिल्लामा पनि विभिन्न पुरस्कारहरु पाइरहनुहुन्छ । शंखु भारतमा समेत पुस्कृत हुनुभएको छ । 

उहाँको बगैँचामा २४ टनको कोल्डस्टोर क्षमता पनि छ । सार्कस्तरीय कृषि क्षेत्रमा काम गरेवापत आफूलाई कोल्डस्टोर योजना परेको ३८ लाख रुपैयाँमा कोल्ड स्टोर स्थापना गरि स्याउ चिस्यान भइरहेको उहाँले बताउनुभयो । 

अनुसन्धान

शंखुले आफ्नो बगैँचामा जिल्ला बाहिरबाट पनि त्यहाँका स्थानीय ओखरका बिरुवा ल्याएर रोप्नुभएको छ । रोपेर फल फलाउनु भएको छ । उहाँले स्याउ तथा ओखरको थप अनुसन्धान थाल्नु भएको छ । उहाँले ओखरमा ग्राफ्टिङ गर्ने विधि त गर्दै आउनुभएको छ नै साथै विगत तीन वर्षदेखि ईटालीबाट ल्याएका स्याउ बिरुवा रोपेर स्याउ उत्पादन पनि गर्न थाल्नुभएको छ । 

व्यावसायिक रुपमा अब्बल भएपछि उहाँको स्याउ बगैँचामा विज्ञ सहितको सरोकारवालाको टोली जाने गरेको छ । उहाँलाई व्यवसायिक बनाउन कृषि विज्ञहरुले समेत सहयोग गर्दै आएका छन् । कृषि वैज्ञानिक खड्कभक्त पौडेलले शंखु खत्रीको मिहिनेत र लगानीमा थोरै प्राविधिक सहयोग गरेको बताउनुभयो । वि.सं २०३६ सालामा बागवानी फारम जुम्लामा कार्यालय प्रमुखको रुपमा काम गर्न आउनुभका पौडेलले ओखरको नयाँ अनुसन्धान, जिवातु उत्पादन गर्न, तालिमहरुमा सहयोग गर्नुभएको छ । 

विपन्न किसानलाई निःशुल्क बिरुवा

शंखुले आफूले उत्पादन गरेको ओखरका बिरुवा कहिलेकाहीँ किसानलाई निःशुल्क रुपमा पनि वितरण गर्नुहुन्छ । गएको शुक्रबार सरोकारवाला निकायहरुको सहभागितामा जुम्लाका २० जना किसानलाई पाँच पाँच बिरुवाका दरले ओखरका बिरुवा वितरण गर्नुभयो । आफूले अनुसन्धान गरेको बिरुवा जिल्लाभरि फैलियोस् र किसानको जीवनयापन सहज होस् भन्ने उहाँको सोचाइ छ ।
किसान खत्री जस्तै अहिले जुम्लामा स्याउ र ओखर खेतीमा धेरै किसान अगाडि बढेका छन् । पहिलेदेखि स्याउ खेती गर्दै आएका किसान स्याउ भन्दा ओखरमा तीन दुई गुणा बढी आम्दानी हुने भएकाले ओखर व्यवसाय गर्न थालेका छन् । 

प्रतिकृया दिनुहोस