Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

‘के माया लाग्छ र ? गीतले एरेन्जरको रूपमा चिनायो’

कुशल सिंह, उमेर २४ वर्ष । बुवाको पदचाप पछ्याउँदै संगीत क्षेत्रमा होमिएको ८/९ वर्ष भयो । सानैबाट सांगीतिक माहोलमा हुर्किनुभएका उहाँले हालसम्म तीन सय जति गीतमा संगीत संयोजनको काम गरिसक्नुभएको छ । यिनै कुशल संयोजक सिंहका बारेमा कुराकानीमा आधारित सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

 

बुवा कुमार सिंह महाराज, वरिष्ठ वाद्यवादक (तबला वादक) । उहाँले तबला बजाउनुभएको देख्दै सुन्दै हुर्किएँ । १२/१३ वर्षको उमेरदेखि नै मेरो हात पनि किबोर्डमा सलबलाउन थालिसकेका थिए ।

कक्षा ६ मा पढ्दादेखि नै मलाई एरेन्जमेन्टमा चासो बढिसकेको थियो । सांगीतिक परिवारमा हुर्किएकोले पनि होला बाजा बजाउन र सिक्न त्यति गाह्रो भएन । संगीतका पार्ट, रिदम, बिट जानेपछि सन्  २००९ देखि संगीत संयोजनको काम थालें । मेरो चाहना र लगन देखेरै होला बुवा–आमाले पनि यसै क्षेत्रमा लाग्न सल्लाह दिनुभयो ।

बुवाको काम नजिकबाट देखिरहेको थिएँ त्यसैले तबला मात्र बजाएर नहुने रहेछ भन्ने सोचेर एरेन्जमेन्टतिर लागें । संगीत संयोजनमा हरेक बाजाको ज्ञान हुनु अति आवश्यक हुन्छ, त्यसैले तबलाको विषयमा चार वर्षे कोर्स गरें ।

गीतको कम्पोज सुनेर बिट बनाउन त्यति सजिलो छैन । त्यसैले धेरै सोचेर र मेहनत गरेर बनाउनुपर्ने हुन्छ । गीतको मुख्य भाग मानिन्छ एरेन्जलाई । सुन्नेबित्तिकै स्रोताको मनमा बस्न सक्ने तरिकाले बाजा भर्न सक्नुपर्छ ।

कहिलेकाहीं मेहनत गरेर काम गर्‍यो गर्‍यो गीतकार, संगीतकारलाई चित्त नबुझेर अन्यत्रै लैजाँदा खिन्न महसूस हुन्छ ।

संगीत भर्नु भनेको गणित होइन, ठ्याक्कै यति समय लाग्छ भन्न सकिंदैन । सामान्यतया ‘सेन्टिमेन्टल’ गीतमा बढी समय लाग्ने गर्दछ । त्यस्तै; ‘डान्सिङ’ गीतमा पनि समय लाग्न सक्छ । यो गीतको विधा अनुसार फरक–फरक हुन्छ । कुनै गीतमा एक घण्टामा पनि संगीत भर्न सकिएला कुनैमा एक महिना लाग्ला । औसतमा भन्नुपर्दा; संगीत संयोजनको काम तीनदेखि पाँच दिनसम्म लाग्ने गरेको छ ।

कहिलेकाहीं मेहनत गरेर काम गर्‍यो गर्‍यो गीतकार, संगीतकारलाई चित्त नबुझेर अन्यत्रै लैजाँदा खिन्न महसूस हुन्छ । काम गर्ने निश्चित समय नहुने भएकोले कोही वेला दिनमा तीनवटा सम्म पनि एरेन्जको काम गरेको छु भने कहिले खाली हात पनि बस्नुपर्ने हुन्छ । यद्यपि; यसबाट हुने कमाइलाई औसतमा हेर्नुपर्ने हुन्छ ।

यही क्षेत्रबाट जीवन धान्न सकिन्छ भन्नेमा ढुक्क छु । मैले आफ्नो मेहेनत अनुसार पारिश्रमिक नपाएको भन्ने छैन । आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने हो भने सबैको विश्वास जित्न सकिन्छ । ढिलो–चाँडो भन्ने कुरा त भइ नै हाल्छ । पारिश्रमिक नै नपाएको भन्ने त्यस्तो कुनै सम्झना छैन । सबै कुरालाई पैसासँग दाँजेर मात्र हेर्नु पनि भएन ।

मान्छेलाई काम गरिसकेपछि दामसँगै नामको पनि उत्तिकै महत्त्व रहन्छ । पहिले पहिले संगीत संयोजकको नाम कमै मात्र भन्ने गरिन्थ्यो । गायक–गायिका र संगीतकारलाई मात्र प्राथमिकता दिइन्थ्यो । एरेन्जरहरूबाट सार्वजनिक कार्यक्रम तथा गिती एल्वमहरूमा आफ्नो नाम नै उल्लेख नभएको गुनासो आउने गर्थे । तर, आजभोलि भने त्यस्तो छैन । गीतको पोस्टरदेखि लिएर युट्युब च्यानलमा राखिंदासम्म नाम दिने गरिन्छ । यो संगीत संयोजकहरूका लागि सकारात्मक परिवर्तन हो ।

मलाई यो क्षेत्रमा स्थापित हुनको लागि ‘फोटो फिरिममा’ गीतले केही हदसम्म सहयोग गर्‍यो भने एक वर्षअघि सार्वजनिक भएको निशान भट्टराई र एलिना चौहानको आवाज रहेको ‘के माया लाग्छ र ?’ गीतले राम्रो एरेन्जरको रूपमा चिनायो ।
अहिले पनि फोटो फिरिमको बाल भर्सनका लागी एरेन्जमेन्टको काम भइरहेको छ । 

‘के माया लाग्छ र ?’ गीतको संगीत संयोजनका लागि झण्डै एक महिना मेहनत गरेको थिएँ । गीतले करोड भ्युज पाउँदा मेरो पनि व्यावसायिक जीवनले उचाइ लियो । यसपछि त गीत दिने गीतकार/संगीतकार बढ्न थाले । हालसम्म लगभग तीन सय गीतमा संगीत संयोजन गरेको छु ।

प्रतिकृया दिनुहोस