Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

अछाममा मौसमी ज्वरोका बिरामी बढे

सरसफाईमा ध्यान दिन तथा बिरामीको संसर्गबाट टाढा रहन डाक्टरको सुझाव

मंगलसेन - अछाममा मौसमी ज्वरोका बिरामी बढेका छन् । बर्खा लागेसँगै ज्वरो र रुघाखोकीका बिरामिको संख्या उल्लेख्य रुपमा बढेको जिल्ला अस्पताल अछामले जानकारी दीएको छ ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा मौसमी ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल अछामका डाक्टर भुवन  जीसीले जानकारी दीनुभयो । उहाँका अनुसार अन्य सामान्य सीजनभन्दा अहिले ज्वरोका बिरामीको दर बढेको हो ।

जिल्ला अस्पतालमा अहिले दैनिक करिब ७० जना बीरामीहरु रुघाज्वरोको समस्या लिएर उपचारका लागि आउने गरेका छन् । उपचारका लागि आउने त्यस्ता बिरामीहरु प्राय जिल्लाका सबैजसो ठाउँका रहेको अस्पतालले जनाएको छ । डां जीसीका अनुसार अधिकांश बिरामी ३० देखि ४० वर्ष उमेर समुहका रहेका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका सहित अन्य ठाउँका बिरामीहरुको दैनिक अस्पतालमा घुईचो लाग्ने गरेको छ । यस्तो समस्या ल्याएर आउनेहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखापर्ने गरेको डाक्टर जि.सीको भनाई छ ।

करिब १ महिना अगाडी दैनिक २०–२२ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेकोमा अहिले त्यो संख्या तेब्बरले बढेको छ । उहाँले ज्वरो आएपछि ढीला गरी अस्पताल पुग्ने गरेका कारण आकष्मिक कक्षमा पनि बिरामिको संख्या बढेको बताउनुभयो । सीजनल रुखाखोकी र ज्वरो बाहेक स्क्रब टाइफस, दम, झाडापखाला जस्ता रोगका बिरामी पनि आउने गरेको अस्पतालले जनाएको छ ।

बर्षायामको समयमा विभिन्न रोगको संक्रमण बढी हुने भएकाले अस्पताल आउने बीरामीको संख्या पनि बढेको हो । यसैबिच डा. जिसीले यस्तो बेला संक्रमण बढ्न सक्ने तथा सर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

बाहीर हिँडडुल गर्दा मास्क लगाएर मात्रै हिड्ने, सफा खानेकुरा खाने, झोलिलो पदार्थको सेवन गर्ने र सरसफाइमा विशेष ध्यान दिने, उमालेको पानी पिउने, अरुले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने तथा संक्रमितबाट टाढा रहने जस्ता उपाय अपनाएमा मौसम ज्वरोबाट बच्न सकिने उहाँको भनाई छ । यस्तै बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा चेकजाँच गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस