Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

गुजरातमा महफिलको निम्तो.....

कार्यक्रम २४ सेप्टेम्बर २०२३ मा

भारत : मनका लहर साहित्य मञ्च भारतले महफिलको तेस्रो शृङ्खला गुजरात राज्यको सुरतमा सञ्चालन गर्ने भएको छ। साहित्य सृजनाको उत्थान हाम्रो प्रयास भन्ने मुल नाराका साथ भारतका विभिन्न ठाउँमा महफिल आयोजना हुदै आएको छ ।

यस क्रममा तेस्रो श्रृंखला गुजरातको सुरतमा सञ्चालन गर्ने तयारी भईरहेको मनका लहर साहित्य मञ्चका संस्थापक अध्यक्ष सागर विश्वकर्माले जानकारी दिनु भएको छ । महफिल विशेष कार्यक्रममा यसपालिको मुख्य आर्कषणको रुपमा भने भारत भ्रमणमा रहेका नेपालको झापा जिल्लाको दमकका लोकप्रिय तथा चर्चित गजलकार लोकेन्द्र बञ्जारा रहनु हुने भएको छ ।

यस्तै चर्चित गजलकार बञ्जारासँगै भारतमा बसेर लामो समयदेखि नेपाली गजल लेखनमा योगदान पुरयाईहेका अन्य तीन जना गजलकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । यसपटक चार जना गजलकारहरूलाई एउटै स्टेजमा सुन्ने वातावरण बनाउने कोसिस गरिएको छ। जसमा दीर्घराज प्रियसी मुम्बई महाराष्ट्रबाट, लक्ष्मण मिलन विष्ट नवि मुम्बईबाट र सुरत सम्राट राजस्थानबाट रहेका कार्यक्रम संयोजक खेमराज अविरलले जानकारी दिनुभयो ।

कार्यक्रम २४ सेप्टेम्बर २०२३ मा सरदार पटेल स्मृति भवन वराछा रोड सुरत गुजरातमा हुनेछ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैलाई सक्रिय सहभागिताका लागि आयोजकले निमन्त्रणा गरेको छ । कार्यक्रममा मदिरा सेवन गरेर जान समेत निषेद्द गरिएको छ ।

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण एवम् संम्बद्धनका लागि आफुहरुले यस्ता साहित्यिक कार्यक्रमहरु गर्दै आएको मञ्चले जनाएको छ । यसअघि भारतको मुम्बईमा महफिलका दुईवटा शृङ्खला पनि  सम्पन्न भईसकेका छन् ।  

पहिलो शृङ्खलामा अछाम जिल्लामा जन्मिएका चर्चित तथा लोकप्रिय गजलकार कमल सङ्गर्षसँगै उहाँको १ बर्ष अगाडि प्रकाशित भएको गजल सङ्ग्रह खुडी परिचर्चा तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।

यस्तै दोस्रो शृङ्खलामा भारतका विभिन्न तीन वटा राज्यबाट तीन जना गजलकारहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियोे । महफिलको दोस्रो श्रृंखलामा ब्याङ्लोरबाट सन्तोष उदासी, गुजरातबाट डन्डी अल्पविराम र मुम्बई महाराष्ट्रबाट चन्द्रमणी खनाले स्टेज शेयर गरेका थिए ।

जन्मभूमि नेपालमा भएपनि कर्मभूमि भारत भएकाले आफ्नै ठाउँवाट नेपाली मौलिक कला, साहित्य र संस्कृतिहरुको जर्गेना गर्नुपर्छ भन्ने उद्देश्यले मनका लहर साहित्य मञ्चको स्थापना गरीएको जनाईएको छ । महफिलका अवसरमा नेपाली प्रवासी श्रष्टाहरू एकठाउँमा जम्मा भएर दुःख सुःख साटासाट गर्दै कार्यक्रमहरु गरिरहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । 


 

प्रतिकृया दिनुहोस