Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

जिल्लाको वर्तमान स्वास्थ्य अवस्थाबारे मंगलसेनमा वार्षिक समिक्षा सुरु

स्वास्थ्य क्षेत्रको सुधारका लागि जनचेतना जगाउन सरोकारवालाको सुझाव

मंगलसेन - अछाम जिल्लाको वर्तमान स्वास्थ्य अवस्थाबारे मंगलसेनमा वार्षिक समिक्षा सुरु भएको छ । दशवटै स्थानीय तहका स्वास्थ्य कार्यक्रमहरु बारे समिक्षामा छलफल भइरहेको छ ।

स्वास्थ्य कार्यालय अछामको अयोजनामा सुरु भएको दुइदिने समिक्षा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको प्रमुख आथित्यता र प्रमुख जिल्ला अधिकारी  शरद कुमार पोखरेलको बिशिष्ठ आतिथ्यतामा सुरु भएको हो ।

समिक्षाको उद्घाटन समारोहमा बोल्दै प्रमुख कुँवरले भौतिक संरचनाको विकासले मात्र नहुने भन्दै दक्ष जनशक्ति परिचालन गर्न सके मात्र स्वास्थ्य क्षेत्रको सुधार हुने बताउनु भएको छ । करोडौं खर्चेर ठुलाठुला भवन निर्माण गरेर मात्र विकास भएको मन्न नसकिने भएकाले अब नितीगत रुपमै सुगम देखि दुर्गमसम्मद क्ष जनशक्ति परिचालन गर्ने कुरामा कडाई गर्नुपर्ने उहाँको भनाई छ । 

समन्वय समिति प्रमुख कुँवरले देशमा अहिले पनि उच्च स्तरको सुविधायुक्त हस्पीटलकै अभावले कतिपय जटिल प्रकृतिका बिरामीले देश बहिर गएर उपचार गर्नुपर्ने बाध्यता रहेकाले त्यस तर्फ राज्यको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले एकजना व्यक्तिले आफ्नै देशमा उपचार नपाएर विदेश जानुपर्ने र उसले करोड खर्च गर्नुपर्ने कुरा नै ठुलो विडम्बना बनेको उल्लेख गर्नुभयो। 

आर्थिक वर्ष २०७९÷८० को स्वास्थ्य कार्यक्रमहरुको समिक्षामा बोल्दै शिष्ठि अथीति तथा अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले स्वास्थ्य नै धन भएकाले रोग लाग्नै नदिने उपाय उपनाउने तर्फ भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ । त्यसका लागि सचेतना फैलाउनु पर्ने खालका योजना निर्माण गर्न सुझाब दिनुभयो । 


स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको भन्दै विगतका राम्रा कुरालाई निरन्तरता दिने र भएका कमजोरी सच्याएर स्वास्थ्य क्षेत्रको सुधारमा गम्भीर बन्नु पर्नेमा पोखरेलले आग्रह गर्नु भएको छ । लागु औषध दुव्र्यसनी कुराले नयाँ पीडिहरु बिग्रीदै गएको भन्दै गाउँ गाउँमा यस्ता गतिविधिको निगरानी गरेर स्वास्थ्यमा गम्भीर समस्या हुने यस्ता क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रहरीले समेत सहयोग गर्ने उल्लेख गर्नुभयो । 


प्रमुख जिल्ला अधिकारी पोखरेलले स्वस्थ रहन योग अभ्यास गर्ने कुरामा पनि जोड दिनु भएको छ । समिक्षाको पहिलो दिन आज जिल्लाका ९ वटा स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरुले आफ्नो प्रस्तुती राखेका छन् । भोली दोस्रो दिन जिल्ला अस्पताल मंगलसेन, साँफेबगर नगरपालिका, बयलपाटा अस्पताल, स्वास्थ्य बिमा र सहयोगी संघ संस्थाहरुका प्रतिनिधिले प्रस्तुती राख्ने छन् । स्वास्थ्य कार्यालय अछाम जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले सञ्चालन गरेको उद्घाटन समारोहमा दश वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, पत्रकार र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

प्रतिकृया दिनुहोस