Thursday, November 21, 2024 | २०८१ मङ्सिर ६ बिहीबार

दल्लेकको होमस्टे अलपत्र

अपीनाम्पा संरक्षण क्षेत्रमा पर्यटक बढाउन ०७१ मा सञ्चालन गरिएको घरबास (होमस्टे) अहिले अलपत्र परेको छ । सञ्चालन समिति र सहयोग गर्ने निकायले व्यवस्थापनमा ध्यान नदिँदा अलपत्र परेको हो ।

नौगाड गाउँपालिका २ स्थित दल्लेक, चौड र चौरीगाडमा सञ्चालन गर्न कैलाश भू–परिधि कार्यक्रमले साढे ३ लाख खर्च भए पनि अहिले अलपत्र नै छ ।
ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ५ वर्षअघि घरबास सञ्चालन गरिए पनि उद्घाटनबाहेक एकजना पनि पर्यटक बास बस्न आएका छैनन् । अहिले यो क्षेत्र पिकनिकका लागि उपयुक्त मानिए पनि व्यवस्थापन नहुँदा अलपत्र परेको स्थानीयको भनाइ छ । साबिकको खार गाविसमा गठन भएको अपीनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई घरबास सञ्चालनको जिम्मा दिइएको हो ।


स्थानीय संस्कृति, परिकारले पर्यटकलाई स्वागत गर्ने उद्देश्यले घरबास सञ्चालन गरिए पनि अपेक्षाअनुसार सफल हुन नसकेको व्यवस्थापन समिति अध्यक्ष मानसिंह मन्यालले बताए । तत्कालीन समितिको सक्रियता नहुनु, होमस्टे सञ्चालनसम्बन्धी प्रभावकारी तालिम सञ्चालन नगरी सुरु गरिएको हुँदा सोचेअनुरूप सञ्चालन हुन सकेनन् । ‘८ घरधुरीमध्ये ३ घरमा राम्रोसँग सञ्चालनमा रहेका अन्य ५ घरमा पनि चल्न सकेको छैन,’ उनले भने, ‘सामग्री पाएको भए पनि सञ्चालन नगर्ने घरलाई सामान फिर्ता गरे अर्कोले सञ्चालन गर्न भनिएको छ ।’ केही नेताले घरबास सञ्चालनको जिम्मा पाएकाले प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
घरबासका लागि स्थानीयको घर मर्मत, सम्भार, लत्ताकपडा थप, शौचालय सरसफाइलगायत पूर्वाधारका लागि कैलाश भू–परिधि कार्यक्रमले आर्थिक सहयोग गरे पनि अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले यसमा ध्यान नपुग्दा होमस्टे अलपत्र बन्न पुगेको स्थानीय गोविन्दसिंह ठगुन्नाले बताए ।


‘पर्यटन प्रवर्द्धन र स्थानीय वस्तुको उपयोग र परिचालनमार्फत स्थानीयको आयस्तर वृद्धि गर्ने उद्देश्यले संरक्षण क्षेत्र स्थापना भएको हो,’ उनले भने, ‘संरक्षण क्षेत्र कार्यालयले स्थानीय वस्तुको उपयोगभन्दा व्यापारमा बढी ध्यान गएको देखिन्छ, संरक्षण क्षेत्रका कर्मचारी र व्यवस्थापन परिषदका पदाधिकारीहरूको ।’
संरक्षण क्षेत्रका स्थानीय र जिल्लास्तरका अधिकांश पदाधिकारीहरू नेता तथा ठेकेदार भएका कारण संरक्षण क्षेत्रको व्यवस्थापन कमजोर बन्दै छ । स्थानीय जडीबुटी र वस्तुलाई संरक्षण गर्नभन्दा पदाधिकारी र कर्मचारीको व्यापारमा जोड दिइरहेको हुनाले संरक्षण स्थापनाको उद्देश्य नै गौण हुँदै गएको उनको भनाइ छ ।
अन्य ठाउँमा ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ‘स्थानीय पर्यटन प्रवर्द्धनमा यसले राम्रो सघाउ पनि पुर्‍याइरहेको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हुने गर्छ,’ स्थानीय पर्यटन व्यवसायी शोभानसिंह लोथ्यालले भने, ‘होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचाली नजिकबाट नियाल्न पाइन्छ ।’


एउटै परिवारजस्तै भएर बसिने हुँदा आत्मीयता मिल्नुका साथै होमस्टेले स्थानीय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउने उनको भनाइ छ । स्थानीयस्तरको पर्यटन प्रवर्द्धन गर्ने होमस्टेको अवधारणा भए पनि संरक्षण क्षेत्रसँगै स्थानीय सरकारको यसतर्फ चासो छैन ।


यो सदरमुकामबाट नजिक, सडकको पहुँच, भारतीय बजार पनि छोटो दूरीमा रहेको हुनाले राम्रोसँगै होमस्टे सञ्चालन गर्न सके पर्यटकहरू लोभिने सम्भावना धेरै रहेको छ । यसको प्रचारप्रसार र स्थानीयलाई होमस्टे सञ्चालनसम्बन्धी राम्रो तालिम दिन सके सञ्चालनमा सहयोग मिल्ने अध्यक्ष मन्यालले बताए ।
‘कैलाश भू–परिधि कार्यक्रमले धेरै अगाडि ७ दिने तालिमबाहेक अन्य कुनै किसिमको प्रशिक्षण पाउन सकेका छैनौं,’ होमस्टे सञ्चालन गर्दै आएका रामसिंह मन्यालले भने, ‘प्रचार अभावका कारण थोरै मात्र मानिस आउने हुनाले सुरुमा लिएको तालिमका सबै कुरा बिर्सिएको र अहिले सञ्चालनमा असहजता आइरहेको छ ।’

उचाइ क्षेत्रमा यहाँको भूगोल रहेको हुनाले धेरैको दृश्यालोकन हुनुका साथै विभिन्न धार्मिकस्थल तथा पर्यटकीय ठाउँ नजिकबाट हेर्न मिल्छ । रमणीय ठाउँ, उपयुक्त हावापानी, स्वादिलो स्थानीय उत्पादन भएको हुनाले पर्यटकलाई आकर्षण गर्न सजिलो भएको समाजसेवी रघुवीरसिंह ठगुन्नाको भनाइ छ ।

प्रतिकृया दिनुहोस