Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

अछाममा बाँसबाट बनेका डोकाको व्यापार हुन छोड्यो

फाइल फोटो

अछाममा बाँस र निंगालोको चोयाबाट निर्मित डोका लोप हुने अवस्थामा पुगेको छ । स्थानियस्तरमा बाँस र निंगालोको चोयाबाट तयार पारीने डोका प्रयोगविहिन हुदा लोप हुने अवस्थामा पुगेको हो ।

घाँसदाउँरा बोक्ने, खेतीपातीका लागि मल बोक्ने, पानी ओसार्ने र बजारबाट सामान बोक्नका लागि चाहीने डोका आजभोली गाउँघरमा प्रयोग हुनै छाडेको अछामको रामारोशन गाँउपालिका वडा नम्बर ४ का स्थानीय हस्ते बिकले बताउनुभयो । उहाँका अनुसार पहिले पहिले बिरामी बोक्नका लागि पनि डोकाको प्रयोग हुने गरेको थियो भने नवजात शीशुलाई सुताउनका लागि पनि बाँसको डोकाको प्रयोग गर्ने गरीन्थ्यो ।

तर आजभोली गाउँघरमै बजार विस्तार हुदा आधुनिक ढुवानीका सामाग्रीहरुको प्रचलन बढेपछि बाँसबाट बनेका डोकाको प्रयोग घटेको रामारोशन गाउँपालिका ४ बाटुलासैनका मनसरा खत्रीले बताउनुभयो । बजार र स्वास्थ्य संस्था नजिक हुदा डोकाहरुको आवश्यकता नपर्ने र पहिलेको तुलनामा मानीसहरुले खेतबारीको काम पनि गर्न छोडेपछि यसको प्रयोग घटेको उहाँको भनाई छ ।

डोकाहरुको प्रयोग हुन छोडेपछि यो व्यवसाय गर्ने व्यापारीहरु पनि समस्यामा परेका छन् ।

बाँस र निंगालोका चोयाबाट लामो समय र मेहनत लगाएर डोकाहरु बुनेपनि यसको सोचेजस्तो व्यापार नहुँदा भने आम्दानी घटेको रामारोशन ४ छडेनाका डोका व्यवसायी नौलु साउँदले बताउनुभयो ।

बाँसबाट डोका, मुखेला, नाङ्लो, छाप्रो, सुप्पो, स्याँकु, अन्न सुकाउने स्थानिय भाड, डालो लगायतका सामाग्रीहरु तयार पार्दै आउनु भएका साउँदले यसको विक्री कम हुन थालेपछि भने घरव्यवहार चलाउनै धौ–धौ पर्न थालेको दुखेसो गर्नुभयो ।

स्थानीय उत्पादनको सदुपयोग र संरक्षण गरी बजारीकरण गर्नका लागि वातावरण बनाईदिन पनि व्यवसायीले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । कम लगानी र श्रमबाट पनि तयार हुन सक्ने यस्ता उत्पादनलाई संरक्षण र संवद्र्धन गरी बजारीकरण गर्नसके स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगार सिर्जना हुने उनीहरुको भनाई छ ।

अछामको रामारोशनमा पहिलेको समयमा ४ सयदेखि ७ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको डोका आजभोली २ देखि ३ सय रुपैयाँमा पनि मुश्कीलले विक्री हुने गर्दछ । 

प्रतिकृया दिनुहोस