Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

पाहुनालाई घिउ, मह र मकैको रोटी

अछाम जिल्लाको बलाता स्थित तिखान गाउँमा पुग्ने पाहुनालाई सुरुमै मह खुवाएर स्वागत गर्ने चलनछ । खानामा दही, सिस्नु, टिमुरसहितको अचार, राइतो र मकैको रोटी दिइन्छ ।


 दिउसोको खाजा उसिनेर पकाएको घोगा र बिहान बेलुकी चियाको सट्टा दूध खुवाइन्छ । ‘यो चलन सुरु गरिएको दुईवर्ष भयो । पाहुनालाई लोकल परिकार मात्रै दिइन्छ,’ तिखानका रतने साउँदले भने,‘स्थानीय उत्पादनको प्रवद्र्धनका लागि यस्तो गरिएको हो ।’ सार्वजनिक सभा समारोह आयोजना हुदा समेत स्थानीय परिकार खुवाउने गरिएको उनले बताए । ‘गाउँको उत्पादन बाहेक अरु चिज दिइदैन्,’ उनले भने,‘यो गाउँमा जो आउछ उसलाई कहिल्यै भुल्नेगरी स्वाद चखाएर फर्काउछौ ।’ 
दोस्रो पटक गाउँमा पाहुन लाग्न जानेहरुले पुग्नु अघिनै फोन गरेर इच्छा अनुसारका स्थानीय परिकार अर्डर गर्ने गरेको उनले बताए । तिखानमा मात्र होइन् पूर्वी अछामको ढकारी र तुर्माखाँद गाउँपालिकाका सबै ठाउँमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न गाउँमै पाइने परिकार खुवाउन थालिएको छ ।


 घुम्ती शिविर लिएर बास बस्न दुर्गम गाउँ बलाता पुगेको सरकारी टोलीलाई बिहानै मह चखाउन थालिएपछि सहायक प्रमुख जिल्ला अधिकारी शीतलबहादुर रावल र डीएसपी जनकबहादुर शाहीसहितका कर्मचारीहरु दंग परे । स्थानीयले आफै सुरु गरेको यो अभियानले आगन्तुकलाई लोभ्याउन थालेको ढकारीको ५ नम्बर वडाका सचिव लोकेन्द्रबहादुर बोगटीले बताए ।


 ‘यहाँ होमस्टेका रुपमा औपचारीक सुरुवात भएको छैन । तर होमस्टेभन्दा अझै राम्रो सुविधा छ,’ उनले भने,‘ घरकै चुल्होमा थपिथपि खान पाइन्छ । यहाँ बस्नुको मजा नै बेग्लैछ ।’ स्थानीय परिकार खान पाइने भएपछि कर्मचारीहरुको रोजाईमा ढकारी र तुर्माखाँदका दुर्गम गाउँहरु पर्न थालेको उनले बताए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माका अनुसार स्थानीय उत्पादन प्रवद्र्धनका लागि योजना नै तयार पारिएको छ ।


 जस अन्र्तगत पहिलो चरणमा मह उत्पादन र व्यवस्थापन तथा सिस्नो प्रसोधन सुरु गरिएको छ । ‘स्थानीय उत्पादन प्रवद्र्धन गर्ने सोच छ,’उनले भने,‘त्यसका लागि सुरुवात गरेका छौ । अब यो अभियानलाई थप गति दिइनेछ ।’ छलफल, बैठक र सार्वजनिक समारोहमा समेत स्थानीय उत्पादनको प्रयोग गरिने उनले बताए । 
मकै, कोदो, गहुँ, चामल र कागुनोको रोटी, रागा (ढिडो), स्थानीय दाल, फर्सीको मुन्टा, फर्सी, हरियो सिमी, काक्रो र अमलाको अचार, दुध, दही, मोही, घ्यू, मह, टिमुरसहितको अचार, राइतो, गोलभेडाको चटनी यहाँ पाइने मुख्य परिकार हुन् । 
 

प्रतिकृया दिनुहोस