Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

ढकारीको ‘ढुंगाचाल्ना’ अब ‘भिर मौरी गाउँ’

अछामको ढकारी गाउँपालिकाका स्थानीय आफ्नो गाउँलाई भिर मौरी गाउँका रुपमा चिनाउन कस्सिएका छन् । अधिकांस जंगलका अग्ला भिरमा मौरी घारको लाम देखिन्छ ।
     चिउरी, पैयूबोटलगायत चरन क्षेत्र प्रसस्त रहेकाले मौरीले घरभन्दा भिरमै बस्न रुचाउने गरेको सल्लेरीका नवराज थापाले बताए । ‘हरेकले जंगलमा घार थापेका छन्,’उनले भने,‘यहाँ कहिल्यै मौरी खाली हुदैन । प्रत्येक सिजनमा मह बेचेर राम्रो आम्दानी हुन्छ ।’ यो गाउँपालिकाका वडा नम्बर १, ५, ६ र ७ भिर मौरीका लागि प्रख्यात छन् । 
    सबैभन्दा बढी ढुंगाचाल्नाको सल्लेरी, रुज, डुफा, टिमु, मोय, थारा, थारम, अमगाउँ र सेरालगायतका ठाउँलाई मौरीले बढी रुचाउने गरेको पाइन्छ । जहाँ जंगलैपिच्छे हरेक भिरमा मौरी पालन गरिएको छ । बर्षमा दुई पटक यहाँका किसानले महको व्यापार गर्छन् । भिरबाट निकालिएको मह सदरमुकाम मंगलसेनसहित धनगढी, सुर्खेत, नेपालगंज र काठमान्डौसम्म पनि बेच्ने  गरिएको स्थानीय दानबहादुर थापाले बताए । 


    ‘यहाँको मह त अमृत सरह हुन्छ्,’उनले भने,‘सिजनमा मह किन्नेहरु गाउँमै आइपुग्छन । मागे जति उपलब्धगराउनै मुस्किल भइरहेको छ ।’ थोरै लगानीमा प्रसस्त आम्दानी गर्न सकिने सम्भावना रहेकाले यो क्षेत्रलाई भिर मौरी गाउँका रुपमा विकास गर्नुपर्ने उनको माग छ । ‘यहाँ भिर मौरीको धेरै सम्भावना छ्,’उनले भने,‘यदि व्यवस्थापन गर्न सके यसैबाट लखपति बन्न सकिन्छ ।’ उनका अनुसार अरिंगाल र मलपासोले भने मौरी जोगाउनै मुस्किल भइरहेको छ । त्यसको नियन्त्रणका लागि केही व्यवस्थापन गरिदिन उनले सरकरी निकायसँग माग पनि गरेका छन् ।  


    देखिएका केही समस्या हल हुनेगरी भिर मौरीका लागि नमुना गाउँ बनाउने उद्देश्यले अब गाउँपालिकाले पनि किसानकै माग बमोजिम योजना निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताए । ‘यहाँ भिर मौरी प्रसस्त पाइन्छ्,’उनले भने,‘यो हाम्रो पहिचान हो । अब फर्महरु स्थापना गरेर यो ठाउँलाई भिर मौरीका रुपमा चिनाउनु पर्छ ।’ किसानले इच्छा देखाएर व्यवस्थीत रुपमा योजना बनाएमा त्यस्ता किसानका लागि सहयोग गरिने उनले बताए ।

थोरै मिहेनतमा मनग्य आम्दानी 
यहाँका मौरी पालकले अहिले प्रतिकिलो पाँच सय रुपैयाँमा मह बेच्ने गरेका छन् । उनीहरुले सिजनमा एउटै घारबाट पाँचदेखि सात लिटरसम्म मह उत्पादन हुने गरेको बताए । सबैभन्दा बढी चिउरी र तोरी फुल्ने बेलामा धेरै मह उत्पादन हुने गरेको डुफाका धने कामीले बताए । ‘आम्दानी त राम्रै हुन्छ,’उनले भने,‘थोरै मिहेनत गरे पुग्छ । लगानी बिनै पैसा आउछ ।’ मह किन्न नेतादेखि कर्मचारीसम्म गाउँमै पुग्ने गरेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस