Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

चिसो छल्न औल झरे भोटे

अछामको कैलासखोला छेउमा चराउन छाडिएका भेडा

हिमाली क्षेत्रका भोटे जनजाति चिसो छल्न अछाम झरेर विभिन्न औलहरुमा बसेका छन् । उनीहरुसँग पाँच सय बढी भेडा, चौरी र खच्चड छन् । यो बर्ष छिटै चिसो बढ्ने संकेत देखिएपछि उनीहरु भदौ अन्त्यतिर नैऔल झरेका हुन् । बाजुराको हिमाली क्षेत्रमा पर्ने कोल्टी, मार्तडी, पाण्डुसेन, बाँधु, बिच्छयाँ, ढम्कने र कोटीलाका ८० परिवार अहिले अछामको कैलासखोला, साँफेबगर, मुजाबगर र देबीस्थान छेउछाउका खुला चउरमा पाल टागेर बसेका छन् । तर यहाँ पनि उनीहरुलाई चिसोले सकस छ । जसले गर्दा बालबालिका र बृद्धबृद्धाको बिजोग छ । ‘यो पटक त यहाँ पनि धेरै चिसो छ्,’ बाजुराको पाण्डुसैनका छिरिङ थापाले भने, ‘केटाकेटी जोगाउनै मुस्किल भइरहेको छ । रातदिनै जोडोले सताउन थाल्यो ।’ चिसोले पढ्ने उमेरका केटाकेटी समेत स्कुल छाडेर यतै आएको उनले बताए । बुढीनन्दाका सागर रोकायका अनुसार औल झरेका प्रत्येक परिवारसँग ८० देखि २ सयको संख्यामा भेडा च्यांग्रा छन् । उनीहरु भेडा च्यांग्राको बथान खुला चउरमै राखेर आफू पालमुनि रात कटाउछन् । पहाडको ठाउँ, त्यसमाथि जंगलको बास, गाउँका खबर केही सुन्न पाइन्दैन । मेलापात, घाँस दाउरा र भेडाच्यांग्रा डुलाउदैमा दिन बित्छ । बिहान उठ्यो जंगल हिड्यो । फर्किदा सधैँ रात भइसकेको हुन्छ । यसरी समय कटाउने भोटे जनजातिसँग बाक्लो कपडाको अभाव छ । उनीहरु एकसरो कपडाकै भरमा चिसोको सामना गरिरहेका छन् । ‘दिउसो पनि जाडोले सताउछ,’ ६५ बर्षिया काली थापाले भनिन्,‘जाडोले थुरथुर काप्दै जंगल जानुपर्छ । हामीसँग बाक्लो कपडा किन्ने पैसा छैन । प्रसस्त लुगा पनि छैन ।’ सँगै एक सयको हाराहारीमा केटाकोटी समेत रहेको उनले बताइन् । चिसोले दुधे बालबालिका र अन्य बालबच्चामा बिभीन्न समस्या देखिन थालेको छ । 
टाउको दुख्ने, ज्वरो आउने, छाला चिलाउने र हात खुट्टा सुनिने जस्ता समस्याले बालबालिका प्रभावित भएको उनले बताइन् । अहिले बुढीनन्दाका मात्रै २७ बढी टोलका भोटे जनजातिहरु अछामका जंगलहरुमा बसीरहेका छन । आम्दानीको स्रोत नहुदा उनीहरु सजिलै न्यानो लुगा किन्न सक्ने अवस्थामा छैनन् । पहाड चढ्दा भेडाच्यांग्रा मार्फत नुन, चामल र दाल लगायत खाद्यान्न ढुवानी गर्ने उनीहरुको पुर्खेउली पेशा हो । तर अचेल सबै ठाउँ सडक सञ्जालसँग जोडिएपछि काम पाउनै मुस्किल भइरहेको घोडाकोटका सर्जन थापाले बताए । 
‘उहिले त भेडाबाट धेरै कमाई थियो । राडीपाखी पनि राम्रै बिक्थ्यो, ’उनले भने, ‘अचेल काम पाउनै छोड्यो । राडीपाखी पनि बिक्दैन ।’ जसले गर्दा चिसो छल्न औल झरेको बेला खान लाउनै मुस्किल हुने गरेको उनले बताए । भदौ अन्त्य तथा असोज पहिलो सातादेखि फागुन सम्म बाजुराको उपल्लो क्षेत्रमा असाध्यै जाडो हुन्छ । बस्तीहरु हिउँले ढपक्कै ढाक्छ । 
हिमपातले अन्नबाली, सागपात र चरिचरन सबै नष्ट गर्छ । यही कारण बर्षका ६ महिना औलमै बिताउने गरेको थापाले बताए । 
 

प्रतिकृया दिनुहोस