Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

ताजा अपडेट

   

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ ।

कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।  

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताउनुभयो ।  

मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरूपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटिसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो । 

यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी ४ सय ९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताउनुभयो ।  

 

प्रतिकृया दिनुहोस